Sunday, October 4, 2015

युवा सङ्घ नवौँ निर्वाचन अयोजक किमिटीमा परिणत

काठमाडौँ, १७ असोज । युवा सङ्घ नेपालको बुटवलबाट निर्वाचित भएर आएको आठौँ केन्द्रीय कार्यसमिति नवौँ निर्वाचन आयोजक कमिटीमा परिणत भएको छ ।

सङ्घको शनिबारदेखि सुरु भएको केन्द्रीय पदाधिकारी बैठकबाट केन्द्रीय कार्यसमिति निर्वाचन आयोजक कमिटीमा परिणत भएको सङ्घका प्रवक्ता प्रभात विक्रम कटुवालले जानकारी दिनुभयो ।

सङ्घका अध्यक्ष नीरु पालको संयोजकत्वमा नवौँ निर्वाचन आयोजक किमिटी बन्ने तयारी भएपनि उमेर हदका कारण उहाँले राजीनामा दिने तयारी गर्नुभएको छ । सङ्घको विधानअनुसार ४० वर्ष उमेर पुगेपछि पदबाट राजीनामा दिनुपर्ने व्यवस्था छ ।

लामो समय असन्तुष्ट रहेका सङ्घका उपाध्यक्ष दिलु पन्तलगायतको टोलीको माग पूरा गर्ने बाचापछि यो पटक संयुक्त बैठक बसेको हो ।

बैठकमा उमेर हदबन्दी ४० वर्ष पुरा भएपछि स्वतः कमिटीबाट बिदा दिने वा के प्राबधान राख्ने भन्ने विषयमा छलफल भइरहेको प्रवक्ता कटुवालले जानकारी दिनुभयो । रासस

ADSENSE CODE

सहमति नभए एमाले सरकारमा जाँदैन : मन्त्री पण्डित

भक्तपुर, १७ असोज । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले विगतमा भएको १६ बुँदे सहमतिअनुसार नयाँ सरकार गठन नभए नेकपा (एमाले) सरकारमा नजाने बताउनुभएको छ ।

रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले सहमतिविरुद्ध गएर नेपाली काँग्रेस आफँैले सरकारको नेतृत्व दोहो¥याउने र एमालेलाई सरकारको नेतृत्व नदिने षडयन्त्रमा लागेको उहाँले आशङ्का व्यक्त गर्नुभयो ।

मन्त्री पण्डितले भन्नुभयो, “संविधान जारी भएपछि एमालेको नेतृत्वमा सहमतीय सरकार बनाउने सहमति भए पनि अहिले सहमतीय सरकार गठन नगरी बहुमतीय प्रणालीमा गएर एमालेलाई सरकारको नेतृत्व नदिने षडयन्त्र सुरु भएको छ, यसो भयो भने एमाले सरकारमा जाँदैन, प्रतिपक्षमा बस्छ ।”

राष्ट्रपतिले सात दिनको समय दिएपछि राजनीतिक धु्रवीकरण बढेको चर्चा गर्दै उहाँले अब सहमतिको सरकार गठन हुने सम्भावना नरहेको बताउनुभयो ।

उहाँले नेपालको संविधान विश्वकै सर्वाेत्कृष्ट रहेको दाबी गर्दै नेपालको संविधान कुनै विदेशी नागरिकका लागि नभएकाले यसमा अन्य राष्ट्रले टाउको दुखाउन नहुने जिकिर गर्नुभयो । अब चीनबाट अत्यावश्यक सामग्री ल्याउन पहल सुरु भइसकेको बताउँदै मन्त्री पण्डितले भन्नुभयो, “भारतले अघोषित नाकाबन्दी लगाया,े त्यसले नेपालीलाई आत्मनिर्भर बन्न अभिप्रेरित गरेको छ, उत्तरतर्फको नाका खोल्न पनि सरकार लागिपरेको छ, ।” रासस

राजविराजबाट ट्रकसहित सुपारी बरामद

सप्तरी, १७ असोज । गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले राजविराजको सिरहारोडबाट आज साँझ ट्रकसहित सुपारी बरामद गरेको छ ।

राजविराजको सिरहा रोड हँुदै छिमेकी राष्ट्र भारततर्फ को १ख३३५४ नम्बरको ट्रकमा चार हजार ३०९ केजी सुपारी र १२० केजी अलैँची अवैध रुपमा लोड गरी लगिँदै गर्दा प्रहरीले पक्राउ गरेको बताइएको छ ।

साथै ट्रक चालक इसरलाल सरदारसमेत पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले बताउनुभयो ।

बरामद गरिएको समान र ट्रक तथा ट्रक चालक सरदारलाई अनुसन्धानका लागि पूर्वाञ्चल क्षेत्रीय राजस्व कार्यालय इटहरी पठाइएको प्रहरीले जनाएको छ । रासस

‘समस्याको समाधान वार्ता र संवादबाट’

दाङ, १७ असोज । नेपाल संस्कृत विश्विद्यालयका उपकुलपति प्राध्यापक डा कुलप्रसाद कोइरालाले वार्ता र संवादबाट नेपाल संस्कृत विश्वविद्यालयका विद्यमान समस्यालाई सम्बोधन गर्न विज्ञप्तिमार्फत आग्रह गर्नुभएको छ ।

प्राज्ञिक क्षेत्रलाई बाहुबलको अखडा बनाउन नहुने बताउँदै उहाँले असहमति र असमझदारीलाई हटाउने एउटा मात्रै विकल्प वार्ता र संवाद भएकाले वार्ताका लागि खुल्ला आह्वान गर्नुभयो ।

लामो समयदेखि विश्वविद्यालयको केन्द्रीय कार्यालयमा भएको तालाबन्दीले विश्वविद्यालयका प्राज्ञिक, शैक्षिक, आर्थिक तथा प्रशासनिक सबै कार्य अबरुद्ध भएको उल्लेख गर्दै विज्ञप्तिमार्फत सधैँ तालाबन्दी र आन्दोलन मात्रले कुनै पनि समस्याको समाधान नहुने बताउनुभयो ।

तालाबन्दीको विकल्प वार्ता र संवाद मात्रै भएको उल्लेख गर्दै विश्वविद्यालयले आज विज्ञप्ति जारी गरी तालाबन्दीमा संलग्न पक्षसँग वार्ता गर्न विश्वविद्यालयले प्रा प्रेमकुमार आचार्यको संयोजकत्वमा वार्ता समितिसमेत गठन गरेको उल्लेख गरेको छ । रासस

जोगवनी नाकाबाट पाँचवटा मालवाहक गाडी भित्रिए

विराटनगर, १७ असोज । जोगवनी नाकाबाट आज साँझ विराटनगरस्थित भन्सार कार्यालयमा पाँचवटा मालवाहक गाडी नेपाल भित्रिएका छन् ।

भन्सारको परिसरमा भित्रिएका गाडीमध्ये फलफूल र खाद्यान्न बोकेका गाडी रहेको भन्सार कार्यालय प्रमुख कृष्ण बस्नेतले जानकारी गराउनुभयो ।

उहाँले मालवाहक गाडीहरु भित्रिने क्रम जारी रहेको भन्दै तेल बोकेका ट्याङ्कर र ग्यास बुलेट धेरै पछाडि रहेकाले भित्रिन समय लाग्ने बताउनुभयो । यसैबीच, रानी भन्सारनजिक संयुक्त मधेसी मोर्चाका कार्यकर्ताले धर्ना जारी राखेका छन् । रासस

मछिन्द्रनाथको भोटो देखाउनका लागि साइत हेर्ने तयारी

काठमाडौँ, १७ असोज । वर्षा र सहकालको देवता रातो मछिन्द्रनाथको सबैभन्दा महत्वपूर्ण मानिने भोटो देखाउने जात्राका लागि साइत हेर्ने तयारी भइरहेको छ ।

शनिबार बिहान महिलाको मात्र सहभागितामा रथजात्रा सम्पन्न भएपछि भोटो देखाउनका लागि तयारी भइरहेको पुजारी विनोद बज्राचार्यले जानकारी दिनुभयो ।

पुजारी बज्राचार्यका अनुसार आगामी २१ गतेसम्ममा साइत हेर्ने काम सकी कुन दिन भोटो देखाउने निश्चित गरिनेछ । भोटो देखाउने दिनको यकिन भएपछि हाल ठटीटोलमा रहेको रथलाई जावलाखेल पु¥याई राष्ट्रप्रमुखको प्रमुख आतिथ्यमा भोटो देखाइनेछ । अहिले रथलाई पानेजुहरुले दैनिक गर्दै आएको नियमित पूजा मात्रै गरिरहेका छन् ।

यस वर्ष १२ वर्षको रथजात्रा भएकाले यस जात्रालाई विशेष जात्राका रुपमा लिने गरिएको छ । हरेक वर्ष जावलाखेलमा मात्र भोटो देखाउने गरिएको भएपनि यस वर्ष १२ वर्षको मेला परेकाले जावलाखेल र बुङ्मती गरी दुई स्थानमा भोटो देखाइनेछ ।

केही समयअघि नै रथजात्रा सकिनुपर्ने भएपनि गत वैशाख १२ गते गएको भूकम्पका कारण तीन महिना रथजात्रा स्थगित भई गत असोज ५ गतेदेखि पुनः दोस्रोपटक जात्रा सुरु भएको हो । रासस

राष्ट्रिय रेफ्री कोर्ष सुरु

काठमाडौँ, १७ असोज । दोस्रो राष्ट्रिय ‘ग्यारोगी रेफ्री रिफ्रेसर कोर्ष’ आजदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सुरु भएको छ ।

सातौँ राष्ट्रिय खेलकुदको प्राविधिक तयारीका लागि राष्ट्रिय तेक्वान्दो सङ्घको आयोजनामा तेक्वान्दो खेलका लागि ‘कोर्ष’ सञ्चालन गरिएको हो ।

‘कोर्ष’मा ४७ जिल्लाका २०० रेफ्रीको सहभागिता रहेको छ । ब्ल्याकवेल्ट दोस्रो डान तथा १६ वर्ष नाघेकाले मात्र यो ‘कोर्ष’मा सहभागिता जनाउन पाउने छन् ।

तीन दिनसम्म चल्ने कोर्ष कोरियाली ग्रान्ड मास्टर क्वान योङ दलले सञ्चालन गरिरहेका छन् ।

राखेपका सदस्य–सचिव केशवकुमार विष्टले एक कार्यक्रमकाबीच ‘कोर्ष’को उद्घाटन गर्नुभयो । रासस