काठमाडौँ, १७ असोज । व्यवस्थापिका–संसद्को आजको बैठक दुईवटा शोकप्रस्ताव पारित गर्दै अन्त गरिएको छ ।
नेपाली काँग्रेसका नेता नरबहादुर थापा र एनेकपा (माओवादी)का नेता रामचरण चौधरीको निधनमा बैठकले सर्वसम्मतिले शोक प्रस्ताव पारित गरेको हो ।
गोर्खा परिषद्बाट २०१५ सालको संसदीय निर्वाचनमा काठमाडौँ क्षेत्र नं २ बाट निर्वाचित तथा लोकतन्त्रको स्थापनामा सक्रिय भूमिका निर्वाह गर्नुभएका नेपाली काँग्रेसका नेता थापाको ९० वर्षको उमेरमा यही असोज ३ गते आइतबार स्युचाटारस्थित आफ्नै निवासमा हृदयघात भई निधन भएको थियो ।
यसैगरी २०६४ सालको संंविधानसभाको निर्वाचनमा बर्दिया क्षेत्र नं ४ बाट निर्वाचित एनेकपा (माओवादी)का नेता तथा पूर्वमन्त्री चौधरीको भेरी अञ्चल अस्पतालमा पेटको क्यान्सरको उपचारका क्रममा यही असोज १५ गते निधन भएको थियो ।
बैठकले नेता थापा र चौधरीको निधनमा गहिरो शोक प्रकट गर्दै दिवङ्गत आत्माको चिर शान्तिको कामनासहित शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको थियो ।
उहाँहरूको निधनमा बैठकले एक मिनेट मौनधारण पनि गरेको थियो ।
यसअघि सभामुख सुवास नेम्वाङले राष्ट्रपतिबाट सातदिनभित्र नयाँ मन्त्रिमण्डल गठन गर्नका लागि गरिएको आह्वानसम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउनुभएको थियो ।
व्यवस्थापिका–संसद्को अर्को बैठक यही असोज २२ गते शुक्रबार दिउँसो १ः०० बजे बस्ने छ । रासस
0 comments:
Post a Comment