Sunday, October 4, 2015

बल्ल उठ्ने तरखरमा भूकम्पबाट थलिएको तातोपानी बजार

ADSENSE ADS

tatopaniतातोपानी (सिन्धुपाल्चोक), १७ असोज । “भूकम्पपछिका छ महिना सामाजिक र मानसिक समस्यासँग जुधियो, सडकको ट्रयाक खोलिएसँगै हामीमा उत्साह थपिएको छ ।” स्थानीयवासी दाबा तामाङले भने झैं तातोपानी बजार क्षेत्रमा बल्ल चहलपहल सुरू हुन थालेको छ ।

गत वैशाख १२ को विनासकारी भूकम्प र त्यसपछिका विभिन्न पहिरोका कारण अस्तव्यस्त बनेको तातोपानी क्षेत्र पहिलेकैै अवस्थामा फर्कन त अझै केही समय लाग्ने देखिन्छ तर बजार खुल्ने क्रम र चीनसँगको नाका चाँडै सुचारू हुने सम्भावनाले स्थानीयमा नयाँ आशा पलाएको छ ।

सडक विभाग, सुरक्षाकर्मी, स्थानीयको सहयोगमा सो क्षेत्रको सडकमा थुप्रिएको पहिरो पन्छाउने क्रममा भेटिएका सोनाम लजका सञ्चालक छोम्बोल लामाले भन्नुभयो, “अब ढुक्क भएर तातोपानी फर्कदाँ हुन्छ । यहाँ बस्ने स्थिति छैन भनेर कतिपय मानिस अझै फर्केका छैनन्, म फर्कन आग्रह गर्छु ।” स्थानीय राजनीतिक कार्यकर्ता शेरबहादुर मगरले स्थानान्तरण भएका स्थानीयवासी क्रमशः फर्कने क्रम रहेको जनाउनुभयो ।

त्यसो त सो क्षेत्रमा अस्थायी रुपमा सडक सञ्चालन भएपनि विद्युत् प्राधिकरणको टावर मर्मत नभएका कारण विजुली बत्ति बलिसकेको छैन भने पाइपलाइन नजोडिएका कारण खानेपानीको सुविधा पाउन सकिएको छैन । यस्तै अध्यागमन कार्यालय, स्थानीय विद्यालय, स्वास्थ्य चौकी, प्रहरी चौकी, सामुदायिक भवन पूर्ण सञ्चालनमा आइसकेका छैनन् । टेलिफोन पनि सुचारू भइसकेको छैन ।

सडकमाथिबाट आएका ठूल्ठूला ढुङ्गा पन्छाउन डिभिजन सडक कार्यालय चरीकोटबाट खटिएका टोलीले लगातार प्रयास गरेपनि पर्याप्त र ठूला उपकरण नहुँदा समय लागेको छ । सडकमा पुरिएका माटो पन्छ्याएपनि बजारमा घरसमेत छोपिने गरी थुप्रिएका माटो हटाउन अझै केही दिन लाग्नेछ भने भत्किएका घरका भग्नावषेश हटाउन महिनौँ लाग्ने देखिन्छ ।

छिमेकी चीनको खासामा सामानसहित रोकिएर रहेका करिब पाँच सय कन्टेनर चाँडो ल्याउन सकिए बजारको चहलपहल थप बढ्ने, व्यवसायीको लगानी खेर नजाने र दसैं तिहारजस्ता पर्वको मुखमा लत्ताकपडालगायत सामग्री नेपाली बजारमा सहज हुने स्थानीय भैवरकुण्ड क्लबका अध्यक्ष कुमार श्रेष्ठ बताउनुहुन्छ । उहाँले प्रसिद्ध तीर्थस्थल तातोपानी धारा सुरक्षित रहेकाले बजार खुलेसँगै आउँदो कात्तिकमा नुहाउन आउने तीर्थालु बढ्ने अपेक्षा व्यक्त गर्नुभयो ।

सडक डिभिजन कार्यालयका इञ्जिनियर रामबहादुर गुरुङ काठमाडौँबाट ११४ किलोमिटरको दूरीमा रहेको अरनिको राजमार्गअन्तर्गत कोदारी सडक खण्डको घट्टेकुलो भन्ने स्थान र १०३ किलोमिटर दूरीको स्थानमा पहिरोका अवरोध हटाइसकेको र अब त्यस स्थानमा सडकको स्तरोन्नति गर्ने तयारी भएको जानकारी दिनुभयो ।

नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका प्रथम उपाध्यक्ष विष्णुबहादुर श्रेष्ठ चीनसँगको नाका व्यावसायिकरुपमा तत्काल नखुल्ने हो भने आफूहरू यहाँ बस्नुको अर्थ नभएको बताउँदै भन्नुभयो, “सधँै अरुको आश गरेर हुँदैन, राहतको भरमा पनि पुग्दैन, काम गरेर खान पाउनुप¥यो ।” उहाँले अर्थ मन्त्रालयको बेवास्ताका कारण नाका खुलाउन र व्यवसाय सञ्चालनमा ढिलाइ आएको गुनासो गर्नुभयो ।

सो नाकाबाट वार्षिक करिब रु २० अरबको कारोबार भई रु तीन अर्ब राजस्व सङ्कलन हुने गरिएको छ । नेपालबाट चीनतर्फ मुख्यगरी घ्यू, पीठो, खाद्यान्न, हस्तकला र छालाका सामान निर्यात हुने गर्दछ भने चीनबाट नेपालतर्फ खासगरी तयारी पोसाक, फलफूल, विद्युतीय सामग्री, छाता, मोबाइल, जुत्तालगायत आयात हुँदै आएको छ । रकाश सिलवाल/रासस

LINK ADS
LINK ADS 2
HOSTGATOR
LINK ADS 3
ADSENSE CODE

0 comments:

Post a Comment