चितवन, १७ असोज । चिकित्सकलाई धम्की दिँदै हातपात गरी रकम माग्ने तीनजनालाई प्रहरीले गएराति पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौँ कीर्तिपुर नगरपालिका–१ का अरुण महर्जन, जुटपानी–१ चितवनका राकेश भण्डारी र म्याग्दीका रमेश पराजुली रहेका छन् ।
कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा कार्यरत डा आई पी चेरियनलाई धम्की दिँदै ठूलो रकम माग्ने क्रममा उनीहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख सहकुलबहादुर थापाले बताउनुभयो । भरतपुरको नौरगेंस्थित डा चेरियन बस्ने घरनजिकै पैसा माग्न पुगेका तीनैजनालाई प्रहरीले एकै साथ पक्राउ गरेको हो ।
उनीहरुले डा चेरियनलाई कठालो समातेर हातपातसमेत गरेको उहाँले बताउनुभयो । निजहरुले चढेको ना १० च ४०३१ नम्बरको कालो रङ्गको आइकन गाडीसमेत प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका तीनैजना जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा छन् ।
डा चेरियन विगत ६ वर्षयता सो अस्पतालमा वरिष्ठ न्यूरो विशेषज्ञका रुपमा कार्यरत हुनुहुन्छ । उहाँ राजधानीबाहिर न्यूरोको उपचारमा नाम चलेको चिकित्सकका रुपमा चिनिनुहुन्छ । पक्राउ परेकाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक थापाले जानकारी दिनुभयो । उनीहरुलाई प्रहरीले सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा दर्ता गर्ने थापाले जानकारी दिनुभयो । रासस
0 comments:
Post a Comment