पाँचथर, १७ असोज । मोबाइल फोनको विकास भएसँगै जिल्लामा हुलाक सेवाको प्रभावकारिता ह्वात्तै घटेको छ ।
पूर्वी पहाडी जिल्लामा रहेका जिल्ला हुलाक कार्यालयदेखि लिएर इलाका हुलाक कार्यालय र अतिरिक्त हुलाक कार्यालयमा कार्यालय प्रयोजनका लागि आएको अख्तियारीपत्र र पत्रपत्रिकाबाहेक व्यक्तिगतलगायत चिठी पत्र आउनै छाडेका छन् ।
यसले हुलाक सेवाको अस्तित्वमाथि नै प्रश्न चिह्न खडा गरेको छ । जिल्ला हुलाक कार्यालयका प्रमुख देवी अधिकारी पनि हुलाक सेवा मोबाइल फोनको विकासले प्रभावित हुँदै आएको स्वीकार्नुहुन्छ ।
उहाँले नेपाल टेलिकललाई हुलाक कार्यालय मातहतमा ल्याइनुपर्नेमा जोड दिँदै आउनुभएको छ । एक दशक अघिसम्म हुलाक कार्यालय जिल्लाकै निक्कै व्यस्त कार्यालय मध्यमा पर्ने गर्दथ्यो । तर आजभोलि हुलाक कामविहीन जस्तै भएको छ ।
कार्यालयबाट लोकसेवा आयोगको लागि लिने परीक्षाको फारम भर्ने, हुलाक बचत बैंक सञ्चालन गर्ने र टेलिसेन्टरबाट सेवा प्रवाह गर्ने गरिएको छ । तर जिल्लाका विभिन्न स्थानमा स्थापना गरिएका इलाका हुलाक कार्यालय र अतिरिक्त हुलाक कार्यालय भने लगभग कामविहीन जस्तै भएका छन् । इलाका हुलाक कार्यालय नवीडाँडाका हल्कारा सन्तोष सम्बाहाम्फेले पहिले जस्तो चिठी पत्र आउने गरेको छैन भन्नुभयो ।
महिना दिनमा कहिलेकाँही १५ वटा मात्रै चिठी आउने गरेको उहाँको भनाइ छ । इलाका हुलाक कार्यालय मौवाका कर्मचारी भगिमान लावतीले कार्यालयबाट आउने अख्तियारीका चिठी बाहेक अन्य चिठी नै आउन छाडेको बताउनुभयो । रासस
0 comments:
Post a Comment