काठमाडौँ, १७ असोज । समाजमा व्याप्त सामाजिक अन्धविश्वास र कुरीतिका रुपमा विद्यमान बोक्सी प्रथाको अन्त्य गर्ने उद्देश्यले ल्याइएको बोक्सी आरोप (कसुर र सजाय) विधेयक २०७१ को प्रभावकारी कार्यान्वयनमा जोड दिइएको छ ।
मानववादी समाज (सोच) नेपालद्वारा यहाँ आज आयोजित ‘संविधानमा कुरीति’ विषयक अन्तक्र्रिया तथा पुस्तक विमोचनमा महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाजकल्याण समिति सभापति रञ्जुकुमारी झाले ऐन÷कानुन ल्याउने मात्रभन्दा पनि कार्यान्वयनको पाटो महत्वपूर्ण भएको कार्यान्वयनका लागि सबैको आवश्यकता औँल्याउनुभयो ।
महिलामाथि हुने हिंसा र अन्यायसँग सम्बन्धित कुरीति अन्त्य समाज (कास)ले प्रकाशन गरेको ‘धर्म, विवाह र महिला’ नामक पुस्तकको विमोचन गर्दै सभापति झाले बोक्सी प्रथासम्बन्धी कानुन नभएका कारण विगतमा महिलाले कथित बोक्सी आरोपमा ज्यान गुमाउनुका साथै सामाजिक बहिष्कार, घर निकालासमेतका पीडा भोग्नुपरेको बताउनुभयो ।
पत्रकार लोग्सरी कुँवर र लेखक सञ्जय खड्काले सम्पादन गर्नुभएको सो पुस्तकमा विभिन्न लेखकका पाँच वटा लेख समावेश गरिएको छ ।
सोही अवसरमा सांसदहरू वृजेशकुमार गुप्ता, मधु गुरुङ, मोहनसिंह राठौर र जगदीश्वर नरसिंह केसीले सविधान निर्माण भइसकेका अवस्थामा अबका दिनमा समाजमा व्याप्त बोक्सी, दाइजो, छाउपडीजस्ता कुप्रथाको अन्त्य गर्दै समाज सुधारको अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
नेकपा (एमाले) की नेत्री रामकुमारी झाँक्रीले चेतनाको कमीका कारण मान्छेले अन्धविश्वासलाई प्रश्रय दिने गरेको भन्दै संस्कारका नाममा विद्यमान कुरीति अन्त्य गर्नु सबैको दायित्व हो भन्नुभयो ।
त्यसैगरी सांसदहरु सकुन्तला राजभण्डारी, मीना पाण्डे, हरि उप्रेती, ममताकुमारी यादव, मीना यादव, नेकपा (एमाले) नेत्री रामकुमारी झाँक्री नेपाली काँग्रेसका महासमिति सदस्य राधा घले, समता पार्टीका महासचिव विक्रम कुँवरलगायतले कानुन कार्यान्वयनसँगै चेतनाका माध्यमबाट बोक्सी प्रथाको अन्त्य गर्नुपर्ने धारणा राख्नुभयो । रासस
0 comments:
Post a Comment