लहान, १७ असोज । बहुजन शक्ति पार्टीका अध्यक्ष विश्वेन्द्र पासवानले राष्ट्रिय सहमतिका आधारमा बन्ने सरकारले मात्र मुलुकको वर्तमान समस्या समाधान गर्न सक्ने बताउनुभएको छ ।
पार्टीका अगुवा कार्यकर्तासँग आज बिहान भएको भेटमा उहाँले संविधानसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलको सहमतिमा राष्ट्रिय सहमतिको सरकार बन्नुपर्नेमा जोड दिनुभयो ।
बहुमतीय प्रक्रियाबाट बन्ने सरकारले मुलुकको समस्या समाधान गर्न नसक्ने दाबी गर्दै अध्यक्ष पासवानले मधेस आन्दोलनलाई वार्ता र संवादको माध्यमबाट समाधान गरिनुपर्ने बताउनुभयो ।
भारतीय पक्षबाट भएको अघोषित नाकाबन्दीको कूटनीतिक रुपमा समाधान खोजिनुपर्ने बताउँदै उहाँले भन्नुभयो, “भारतले पनि नेपाललाई सम्मान गर्नुपर्छ र नेपालले पनि धाकधम्कीको भाषालाई छाडेर कूटनीतिक समाधान खोज्नु जरुरी छ ।” रासस
0 comments:
Post a Comment