Sunday, October 4, 2015

सामुदायिक वन उपभोक्ता समूहलाई हस्तान्तरण

ADSENSE ADS

इलाम, १७ असोज । जिल्ला वन कार्यालयले ४६ हजार २७ हेक्टर वन क्षेत्रको संरक्षण र व्यवस्थापनको जिम्मा स्थानीय समुदायलाई दिएको छ ।

वन क्षेत्र समुदायलाई जिम्मा दिएसँगै संरक्षण र नाङ्गा डाँडापाखा पनि हरियाली हुन थालेपछि बर्सेनि वन कार्यालयले समुदायलाई नै वन हस्तान्तरण गर्दै आएको छ ।

इलामको कुल एक लाख ७१ हजार ७२५ हेक्टर क्षेत्रफलमध्ये ८० हजार ९२६ हेक्टर वन क्षेत्रले ओगटेको छ । जिल्लाका २३० वटा सामुदायिक वन उपभोक्ता समूहलाई कार्ययोजनाअनुसार वन क्षेत्रको संरक्षण, व्यवस्थापन र उपयोगिताका लागि वन हस्तान्तरण गरिएको हो ।

जिल्लामा सञ्चालित सामुदायिक वन, कबुलियती वन, जडीबुटी विकास, राष्ट्रपति चुरे संरक्षण, राष्ट्रिय वन विकास तथा व्यवस्थापन, निजी वन व्यवस्थापन कार्यक्रमबाट जैविक विविधताको संरक्षणमा ठूलो सहयोग मिलेको जिल्ला वन कार्यालयका सहायक वन अधिकृत सुनीलकुमार सिंहले बताउनुभयो ।

जिल्लामा हालसम्म ३४ हजार एक सय ११ घरधुरीका एक लाख ८२ हजार छ सय २५ जनसङ्ख्या सामुदायिक वन समूहमा आबद्ध छन् । जिल्ला वन कार्यालयले आव २०७१÷०७२ मा सामुदायिक वन विकास कार्यक्रमतर्फ रु २३ लाख ९६ हजार, राष्ट्रिय वन विकास कार्यक्रमतर्फ रु २० लाख ६६ हजार, राष्ट्रपति चुरे संरक्षणतर्फ रु १९ लाख ६२ हजार, वृक्ष सुधारतर्फ रु ३६ लाख ६१ हजार र लोदिया नदी प्रणाली संरक्षण कार्यक्रमतर्फ रु ६५ हजार गरी रु एक करोड एक लाख ५० हजार बजेट खर्च भएको जनाएको छ ।

सामुदायिक वनभित्र गठन गरिएका कबुलियती वनमा तेजपात, चिराइतो, लौठसल्ला, अग्रेली, अम्रिसो खेती गरिएको छ । माईपोखरी गाविस ६ र ७ मा पर्ने टप्पुपाटे र जिमी सामुदायिक वनमा तीन हजार ३०० लौठसल्ला, २०० चमेली, २६५ सतुवा र एक हजार लोक्ताका बिरुवा रोपिएको छ ।

वन संरक्षणका साथै यसको जैविक विविधता संरक्षण गर्न योगदान पु¥याएबापत वन कार्यालयले नमुना, इरौटार, कालीखोप डढेली, पाथीभरा, तीनतले र बगैँचासेरो सामुदायिक वन उपभोक्ता समूहलाई पुरस्कृतसमेत गरेको छ । रासस

LINK ADS
LINK ADS 2
HOSTGATOR
LINK ADS 3
ADSENSE CODE

0 comments:

Post a Comment